बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलामाथि वडा नं. ८ का वडाध्यक्ष अजय कार्कीले अपरिचित व्यक्तिहरुको समूह लिएर हुलहुज्जत गर्दै गालीगलौच र अभद्र व्यवहार गरेको घटनाप्रति खेद व्यक्त गरेको छ ।
वडाध्यक्ष कार्कीले सिंगो नगरपालिकाको गरिमा घटाउने कार्य गरेकोले यस्ता अनुचित कार्यको भत्सर्ना गर्दै सिंगो नगर कार्यपालिकाले खेद व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
बुधबार दिउँसो १ बजे नगर उपप्रमुखको कार्यकक्षमा मेलमिलाप कर्ताहरुको वार्षिक समिक्षा बैठक चलिरहेको अवस्थामा वडा नं.८ का वडाअध्यक्ष अजय कार्कीको नेतृत्वमा २५-३० जनाको समूह प्रवेश गरी फेसबुकमा लेखेको विषयलाइ लिएर नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलामाथि गाली गलौज, अभद्र व्यवहार गरेका थिए ।
विज्ञप्तिमा भनिएकोछ, ‘उक्त विवादलाई अन्त्य गरि मेलमिलाप गर्न गराउन आज बसेको कार्यपालिकाको बैठकमा वडा नं.८ का वडाअध्यक्ष अजय कार्की अनुपस्थित हुनु भएको हुँदा दुबै पक्ष बीच भएका व्यक्तिगत मतभेद र लाञ्छनालाई आपसी मेलमिलापबाट निवारण गर्न अनुरोध गर्दछौं । साथै उक्त विषयमा अन्याय भएको महसुस भएमा दुबै पक्षलाई कानूनी उपचार खोज्ने विकल्प खुल्ला रहेको समेत जानकारी गराउँदछौ ।’
कार्यपालिकाले व्यक्तिगत अफवाह फैलाउने, सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्ने जस्ता कार्य पूर्णत बन्द गर्न जनप्रतिनिधि लगायत सबैमा आह्वान गर्दै आफ्नो मान मर्यादा कायम गर्न र आचारसहिंता पूर्णरुपमा पालना गर्न अनुरोध गरेको छ ।
Source: ijalas