Mechi Update

सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृत्यु, कम्तीमा ३० घाइते

शुक्रवार, साउन १०, २०८२

नयाँ दिल्ली । भारतको राजस्थान राज्यको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी क्षेत्रमा रहेको एउटा सरकारी विद्यालयको छत भत्किँदा शुक्रबार बिहान तीन बालबालिकाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ३० जना घाइते भएको बताइएको छ ।

राजस्थानका शिक्षामन्त्री मदन दिलावरले तीन बालबालिकाको मृत्युको पुष्टि गरेका छन् । सञ्चारमाध्यमहरूले भने मृतक बालबालिकाको सङ्ख्या कम्तीमा पाँच रहेको भन्दै समाचार छापेका छन् । दुर्घटना लगत्तै गाउँलेहरूले घाइते र मृत बालबालिकालाई भग्नावशेषबाट बाहिर निकालेका थिए ।

घाइतेहरूमा शिक्षकहरू पनि भएको बताइएको छ । हाल सबैलाई उपचारको लागि अस्पताल लगिएको छ । ‘विद्यालयको छत भत्किँदा दुःखद घटना भएको छ । तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । कलेक्टर सहित शिक्षा विभागका अधिकारीहरूलाई पठाइएको छ ।’

शिक्षामन्त्री मदन दिलावरद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको अनि यो दुर्घटना कसरी भयो भनेर पत्ता लगाउन उच्चस्तरीय अनुसन्धान गरिने पनि विज्ञप्तिमा उल्लेख छ । राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Source: ratopat

सम्बन्धित खबर