Mechi Update

रुसमा दुर्घटनामा परेको विमानमा सवार सबैको मृत्यु भएको आशंका

बिहिवार, साउन ९, २०८२

८ साउन, काठमाडौं । रुसमा दुर्घटनामा परेको विमानमा सवार सबै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । बेलायती समाचार संस्था रोयटर्सका अनुसार रुसको सुदूरपूर्वी क्षेत्र अमुरस्थित टिन्डाको जंगलमा सोभियत युगको पुरानो एन्टोनोभ एएन–२४ मोडेलको विमान बिहीबार दुर्घटनामा परेको हो ।

रुसी आपतकालीन सेवाका अधिकारीहरूका अनुसार ले दुर्घटनामा परेका सबै यात्रुको मृत्यु भएको प्रारम्भिक सूचना प्राप्त भएको रोयटर्सले उल्लेख गरेको छ ।

सन् १९७६ मा बनेको यो विमान करिब ५० वर्ष पुरानो भएको बताइएको छ । दुर्घटनापछि जंगलमा आगो बलिरहेको हेलिकप्टरमा सवार भएका व्यक्तिहरुले देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

सोसल मिडियामा सार्वजनिक एक अप्रमाणित भिडियोमा घना जंगलको क्षेत्रमा विमान खसेको देखिन्छ । उक्त विमान साइबेरियास्थित अंगारा एयरलाइन्सको रहेको र ब्लागोभेसेन्स्कबाट टिन्डा जाँदै गरेको जनाइएको छ । उडानको क्रममा टिन्डा नजिकै जंगलमा पुग्दा विमानसँग राडारको सम्पर्क टुटेको थियो ।

क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार विमानमा ५ बालबालकिासहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए ।

रुसी आपतकालीन सेवाकी अधिकारी युलिया पेतिनाले टेलिग्राममा लेखेकी छन्, ‘खोजी अभियानका क्रममा रोसाभियात्सियाको एमआई–८ हेलिकप्टरले विमानको जलेको अवस्थामा फेला पारेको छ ।’

उनका अनुसार उद्धारकर्मीहरू घटनास्थलतर्फ पुग्ने प्रयासमा छन् । विमान दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान गरिने रुसी अधिकारीहरुले बताएका छन् ।

Source: online khabar

सम्बन्धित खबर