Mechi Update

४९ धारा मनसा नागदेवीमा तीन दिवसीय भव्य धार्मिक महोत्सव: अनौठो माछाबाट सुरु भएको आस्थाको यात्रा आज पर्यटकीय स्थलमा परिणत

बिहिवार, साउन ९, २०८२

मेचीनगर । मेचीनगर–१ स्थित ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ४९ धारा मनसा नागदेवी हिले सिमसार क्षेत्रमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने भएको छ। आयोजक समितिका अनुसार साउन ११ गतेदेखि १३ गतेसम्म विशेष धार्मिक, सांस्कृतिक तथा पूजाआर्जनात्मक कार्यक्रमहरू हुनेछन्।

मच्छ्य देवता र नाग देवताको वासस्थलको रूपमा मानिने यस क्षेत्रमा प्रत्येक वर्ष नाग पञ्चमीमा विशेष पूजा आराधना गरिँदै आएको छ। संरक्षण समितिका अध्यक्ष महेन्द्र मल्लका अनुसार, यो वर्षको कार्यक्रम पहिलेभन्दा झनै व्यवस्थित र भव्य हुनेछ।

उनका अनुसार पहिलो दिन साउन ११ साकेला नृत्य, विभिन्न जातजातिको सांस्कृतिक झाँकी, लाखेनाच, च्याबु्रङ नाच र भजन-कीर्तन प्रस्तुति रहनेछ । त्यस्तै दोस्रो दिन साउन १२ पूजाअर्चना, विद्यालय स्तरीय प्रतियोगिता र चर्चित कलाकारहरूको सांगीतिक कार्यक्रम रहनेछ । र अन्तिम दिन साउन १३ गते नाग पञ्चमीको दिन विशेष नाग पूजन, काल सर्प दोष निवारणको लागि होम र भजन–कीर्तन गरिनेछ ।

अनौठो माछाबाट सुरु भएको धार्मिक आस्था:-

स्थानीय कथन अनुसार २०६३ सालतिर एक अनौठो माछा कुवामा देखिएपछि सो क्षेत्रमा धार्मिक विश्वास गहिरिँदै गएको हो। माछालाई घर लगेपछि बिरामी परेको र धामी–झाँक्रीको सल्लाहमा माछा फिर्ता गरी पूजा गर्दा निको भएको जनविश्वासले यस स्थललाई धार्मिक महत्वमा रूपान्तरण गराएको छ।

त्यस घटनाका प्रत्यक्षदर्शी जीवन थापा मगरले भने, “अनौठो माछा भेटिएपछि हामी अचम्ममा पर्‍यौं, त्यसपछि पूजाआजा सुरु गरियो। अहिले यो क्षेत्र धार्मिक आस्थाको केन्द्र बन्न पुगेको छ।”

धार्मिक संरचना र पर्यटकीय विस्तार :-

हालसम्म सो क्षेत्रमा: मनसा देवी भवानीको मन्दिर, नाग देवताको मूर्ति, ४९ मूल धारा र थप ६ मच्छ्य धारा, होमादी स्थल, पदमार्ग आदि निर्माण भइसकेका छन्।

धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यले पनि आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लोभ्याउने गरी यो स्थल विकसित हुँदै गएको छ। मन्दिरमा गएर सच्चा मनले मागेको इच्छा पुरा हुने धार्मिक विश्वास पनि रहेको अध्यक्ष मल्ल बताउँछन्।

समाजसेवीहरूको योगदान र भविष्य योजना:-

धार्मिक विकासका लागि समाजसेवी डिकेन्द्र थापा, चन्द्र थापा र गोविन्द राई परिवारले तीन कठ्ठा जमिन औपचारिक रूपमा प्रदान गरेका छन्। सल्लाहकार डिकेन्द्र थापाले भने, “पहिले यो ठाउँ सानो कुवा र खेतीयोग्य जमिन थियो। अनौठो माछाको घटनापछि हामी संरक्षणमा लाग्यौं, अहिले चार कठ्ठा क्षेत्रको संरक्षण भइसकेको छ।”

२०७४ सालमा पुराण लगाएर मन्दिर बनाइएको थियो । त्यसपछि सहयोगी दाता स्थानीय सरकार सबैको साथले विकास र संबर्धन गर्ने कार्य भइरहेको उनले जानकारी दिए।

हिले सिमसार केवल एक धार्मिक स्थल मात्र नभई सामूहिक आस्था, समाजको योगदान र संस्कृतिको संगम भएको स्थल हो। यहाँको तीन दिवसीय धार्मिक महोत्सवले क्षेत्रीय पर्यटन, संस्कृति र समर्पणको नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ।

Source: hamro khabarpati

सम्बन्धित खबर