Mechi Update

प्रहरीकै स्कटिङमा काठ तस्करी, सशस्त्रद्वारा ३८.४८ क्युफिट सखुवाको काठ बरामद

मङ्गलवार, साउन ७, २०८२

झापा ।

उपभोक्तालाई राहतमा वितरण गरेको काठ प्रहरीकै स्कटिङमा तस्करी हुने गरेको तथ्य फेला परेको छ ।

इलामको बरफल्याङ सामुदायिक वनका पूर्वअध्यक्ष लक्ष्मिकान्त घिमिरे र बरफल्याङ प्रहरी चौकीका इञ्चार्ज असई छत्र श्रेष्ठले गत शुक्रबार तस्करी गरी झापातिर ल्याउँदै गरेको काठ सशस्त्र प्रहरीले अर्जुनधारा–१ बाट जफत गरेसँगै यो तथ्य खुलेको हो ।

मे १ ज ११६५ नम्बरको पिकअप गाडीमा सखुवाको चिरान काठ अवैध रूपमा आउँदै गरेको सूचनाको आधारमा सहायक प्रहरी निरीक्षक नारायण श्रेष्ठको कमाण्डमा गएको टोलीले ठूलोनेते खोलको पुलनजिकै पक्राउ गरेको थियो । नेपाल प्रहरीका असई श्रेष्ठ र उनको साथमा गएका एक हवल्दारले काठ बोकेको पिकअप गाडीलाई पछाडिबाट स्कटिङ गरी रहेको अवस्था सशस्त्र प्रहरीले गाडी नियन्त्रणमा लिएसँगै मोटरसाइकल फर्काएर भागेको प्रत्यक्षदर्शीले बताए । गाडिमै रोङ–२ का जीवन प्रसाईं थिए । ओर्ले र भाग्दा मोबाइल छुटेपछि पुन लिन आउदा उनको भिडियो कैद भएको थियो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको ३८.४८ क्युफिट सखुवाको काठ र पिकअप गाडी कारबाहीका लागि कन्काई सब डिभिजन वन कार्यालय सुरुङ्गामा बुझाइएको जनाएको छ । सब डिभिजन वन कार्यालय सुरुङ्गाका साहायक वन अधिकृत सुरेशकुमार खनालले काठ ल्याउनेले पेश गरेको कागजपत्रको आधारमा कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

दिउँसो २ बजे खनालले स्थलगत मुचुल्का तयार पार्न गएको जानकारी दिएका थिए । साँझ सम्पर्क गर्दा अनुसन्धानको प्रक्रियामा रहेको भन्दै पन्छिन खोजे । साँझ ६ बजे उनकै अफिसमा सो काठका तस्कर असई श्रेष्ठ र पूर्वअध्यक्ष घिमिरेले हवल्दारलाई समेत साथमा लिएर भेट्न पुगेको भिडियो हामीलाई प्राप्त भएको छ ।

काठ पक्राउ परेसँगै फसिने डरले असई श्रेष्ठले नातामा आफ्न्त पर्ने खुदुनाबारीमा काठ मिल सञ्चालन गर्दै आएका पूर्णचन्द्र श्रेष्ठलाई भनेर काठको भ्याट बिल बनाउन लगाएर वन कार्यालमा पेश गरेको जानकारी आएको छ । श्रेष्ठको सो मिलको भ्याटबिल पेश गरे पनि सो काठमा श्रेष्ठको मिलको टाँचा प्रयोग भएको छैन । यसबाट पनि तस्करले बच्न किर्ते गरेको प्रष्ट हुन्छ ।

अच्चम चाहिँ के भने काठ बरमद भएको स्थान हलुवागड समुदायिक वन नजिकै ठूलो नेते खोलको छेउमा रहे पनि भ्याटबिल भने खुदुनाबारी बजारमा रहेको सो मिलले दिएको छ । मिलबाट काठ बरामद भएको स्थान पूर्व उत्तरमा पर्छ र आजसम्म त्यो क्षेत्रका स्थानीयले त्यो मिलबाट काठ किनेर लगेका छैनन् । त्यो पनि रातिको समयमा । पूर्णचन्द्र श्रेष्ठले चोरी र सामुदायिक वनले उपभोक्तालाई राहतमा वितरण गरेको काठ अवैध तरिकाले किन्ने गरेको स्थानीयले बताए । काठ मिलमा भएको काठको विवरण र उनले अवैध तरिकाले खरिद गरेको विवरण हेरेर तस्करीमा साथ दिने सञ्चालक श्रेष्ठलाई समेत कारबाही गर्न स्थानीयले माग गरेका छन् ।

असई श्रेष्ठले बरफल्याङ प्रहरी चौकीको कमाण्ड गरेसँगै रोङका समुदायिक वन र खोलामा तस्करी गर्नेसँग साँठगाँठ गरी पैसा असुल्ने गरेको तथ्य फेला परेको छ । उनले चुरेक्षेत्रमा रहेको रोङको संवेदनशील क्षेत्रका बिरिङ, ठूलोनेते, टाङटिङ, गोयाङ खोलाको नदीजन्य सामाग्री ओसार–पसार गर्नेसँग मासिक रूपमा रकम असुल्ने गरेको फोन रेकर्डसमेत प्राप्त भएको छ ।

अर्जुनधारा–१ की सोमकुमारी राईको नाममा रहेको पिकअप गाडी बिक्रम ढुङ्गानाले मौखिक रूपमा खरिद गरेर चलाउने गरेका थिए । उनीसहित पक्राउ गरेको पिकअप र चालक ढुङ्गानालाई शुक्रबार नै कन्काई सब डिभिजन वन कार्यालय सुरुङ्गा छोडिसेको जनाएको छ ।

सहायक वन अधिकृत खनाललाई सेटिङ मिलाई सकेको र प्रहरी नै आफ्नो भएकोले दुई दिनमा केस मिलाएर गाडी निकालिदिने भन्दै पूर्वअध्यक्ष घिमिरेले गाडी साहु ढुङ्गानालाई विश्वस्त पारेको स्रोतले बतायो । यस अगाडि पनि बरफल्याङ सामुदायिक वन उपभोक्ता समूहबाट तस्करी हुँदै आएको अवस्थामा सालको काठ वन समूहले नै बरामद गरी छलफल गरेर मिलाएको थियो ।

श्रेष्ठ र पूर्वअध्यक्ष घिमिरेले प्रदेशदेखि संघसम्मका नेतासँग पहुँच बनाएको भन्दै स्थानीयलाई आतंकित बनाएर तस्करी गर्ने गरेको स्थानीयले बताए ।

source : Purwanchal

सम्बन्धित खबर