Mechi Update

मोरङ : नाबालिका बलात्कारका अभियुक्तलाई जन्मकैद फैसला

सोमवार, साउन ६, २०८२

५ साउन, विराटनगर । नाबालिका भतिजीको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत मोरङले आजीवन कैद सजाय सुनाएको छ ।

मोरङको धनपालथान गाउँपालिका– ५ का २२ वर्षीय अनिश सरदारलाई थुनछेक बहसकै दिन जिल्ला अदालत मोरङले आजीवन कैद सजाय सुनाएको हो ।

उनले गत असार १४ गते राति भतिजी ७ वर्षीया नाबालिकाको जबर्जस्ती करणीपछि हत्या गरी घरबाट झन्डै सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा शव राखेका थिए ।

प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत मोरङमा अनिश विरुद्ध मुद्दा दर्ता गरेको थियो ।

सोमबार बयानपछि थुनछेक बहस भएको थियो । थुनछेक बहसकै दिन न्यायाधीश बाबुराम सुवेदीको इजलासले अनिशलाई  जन्मकैद सजाय हुने फैसला सुनाएको अदालतका स्रेस्तेदार मणिराम पोखरेलले जानकारी दिए ।

उनका अनुसार अदालतमा बयानका क्रममा आरोपीले कसुर स्वीकार गरेपछि थुनछेक बहस लगत्तै मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम  फैसला भएको हो ।

अदालतले अनिशलाई ७ लाख रुपैयाँ जरिबाना र मृतकका परिवारलाई क्षतिपूर्तिबापत १ लाख रुपैयाँ भराउने फैसला पनि गरेको छ ।.

Source: online khabar

सम्बन्धित खबर