Mechi Update

लागूऔषधको ठूला कारोबारी खरेललाई कडा कार्वाही गर्न माग

आइतवार, साउन ५, २०८२

बिर्तामोड ।

बिर्तामोडमा लागूऔषधको कारोबार हुने गरेको तथ्य खुलेसँगै विभिन्न संघ–संस्थाले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

झापाको बिर्तामोड–५ स्थित मंगलदीप टोलमा लागूपदार्थजन्य औषधि भण्डार तथा बिक्रीवितरण गरेको तथ्य खुलेसँगै बिर्तामोडबाटै लागूऔषधको कारोबार हुने गरेको रहस्य सार्वजनिक भएको हो । प्रहरीले दिनहुँजसो लागूऔषधको प्रयोगकर्ता पक्राउ गरे पनि हालसम्म कारोबारीलाई पक्राउ गर्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले लागूऔषधबिरुद्ध विभिन्न अभियान सञ्चालन गरेको बताए पनि ती अभियान प्रभावकारी देखिएका छैनन् । प्रहरीले बिर्तामोडबाट प्रतिबन्धित लागूऔषधसहित अर्जुनधारा–६का २५ वर्षीय बिनोद घिमिरेलाई पक्राउ गरे पनि मुख्य सञ्चालक तथा कारोबारी भानुभक्त खरेल हालसम्म पक्राउ परेका छैन । प्रहरीले झापामा अहिलेसम्मकै ठूलो परिमाणको लागूऔषध फेला परेको दावी गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीमा शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको घटना सार्वजनिक गरे पनि यसका मुख्य सञ्चालक खरेलको नाम कतै उल्लेख नगरेको भन्दै चौतर्फी आलोचना भएको छ । प्रहरीले खरेललाई जोगाउन हतार–हतार पत्रकार सम्मेलन गरेको टिप्पणी हुन थालेको छ । यसैबीच नेपाल कम्युनिष्ट पार्टी (विप्लव माओवादी) झापाका इञ्चार्ज सुमन सीले लागूऔषधले झापा आक्रान्त बनेको भन्दै त्यसबिरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।

उनले प्रहरीले गरेको काम प्रशंसायोग्य भए पनि मुख्य आरोपी तथा कारोबारी जोगाउने खेल भएमा त्यसबिरुद्ध कडा प्रतिवाद गर्ने चेतावनी दिए । उनले झापा लागूऔषधको कारोबार तथा प्रयोगकर्ताले भरिएको भन्दै हरेक घरमा एकजना लागूऔषध प्रयोगकर्ता हुने अवस्था आएकोमा चिन्ता व्यक्त गरे । उनले प्रहरी, राजनीतिक दल, विभिन्न संघ–संस्था, पत्रकार, उद्योगी–व्यवसायी, जनप्रतिनिधि, निजामति कर्मचारी लगायत सबै नागरिकलाई लागूऔषधबिरुद्ध कडारुपमा प्रस्तुत हुन आह्वान गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लीग (वाइसीएल) नेपालले प्रहरीले बिर्तामोडमा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको घटनाको प्रशंसा गरेको छ । विज्ञप्तिमार्फत वाइसीएल नेपाल बिर्तामोड नगर कमिटीले उक्त लागूऔषध बरामद गरेको कार्यको प्रशंसा गर्दै मुख्य कारोबारी नउम्काउन चेतावनी दिएको छ ।

वाइसीएलले मुख्य कारोबारी भानुभक्त खरेललाई पक्राउ गर्न प्रहरीले देखाएको उदाशीनताप्रति गम्भीर आशंका पैदा भएको जनाएको छ । वाइसीएल बिर्तामोड नगर कमिटीका अध्यक्ष सेवन दर्नालद्वारा हस्ताक्षरित विज्ञप्तिमा वाइसीएलले यस घटनालाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै कामदार फसाएर प्रहरीले मुख्य कारोबारी उम्काउन खोजेको हो कि भन्नेमा सशंकित रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ– आज समाज लागूऔषधले आक्रान्त बनिरहेका बेला एक सचेत संगठनको हिसाबले योब कम्युनिष्ट लीग, नेपाल बिर्तामोड नगर कमिटी यस्ता बेथितिबिरुद्ध कडारुपमा उत्रने चेतावनी दिन चाहन्छ । यदि यस्ता घटनामा दोषी उम्काउने तथा निर्देष फसाउने खेल भएमा योब कम्युनिष्ट लीग, नेपाल बिर्तामोड नगर कमिटी सशक्त प्रतिकारमा उत्रने चेतावनी दिन चाहन्छौं । यस्ता घटनामा कुनै राजनीतिक संरक्षण तथा सत्ताको दुरुपयोग भएको पाइएमा त्यस्तो भण्डाफोर गर्ने चेतावनी दिन चाहन्छौं ।’

यता नेपाल औषधि व्यवसायी संघ झापा जिल्ला कार्यसमितिले एक विज्ञप्ति जारी गर्दै औषधि व्यवसायीले गलत कार्य गरेको भए कानूनको कठघरामा उभ्याउनुपर्ने जनाएको छ । एक विज्ञप्ति जारी गर्दै महासचिव विष्णुप्रसाद पौडेलले गुणयुक्त, असुरयुक्त, जनसुरक्षित औषधिको बिक्रीवितरण गर्ने औषधि व्यवसायीले समाज व्यवस्थापन र समाज निर्माणमा अत्यन्त जिम्मेवारीबोधका साथ काम गर्ने भएकाले नै औषधि व्यवसायीलाई व्यवसायभन्दा पनि सेवाका रुपमा हेरिन्छ ।

आफ्नो पेशाको नैतिकतामाथि नै प्रश्न उठ्नेखालका क्रियाकलापहरु गर्ने व्यक्ति कुनै पनि मानेमा औषधि व्यवसायी हुन सक्दैन– विज्ञप्तिमा भनिएको छ । औषधि व्यवसायी संघ झापाले यस घटनामा संलग्न व्यवसायी भानुभक्त खरेललाई तत्काल पक्राउगरी कानूनी कठघरामा उभ्याउन माग गरेको छ । साथै व्यवसाय गर्दा आफ्नो पेशाको मर्यादा, व्यवसायको नैतिकता र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्न औषधि व्यवसायी संघले आग्रह समेत गरेको छ ।

झापामा पछिल्लो समय लागूऔषध कारोबारी तथा प्रयोगकर्ता बढ्दै गए पनि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा प्रहरी प्रशासनले यसलाई गम्भीर रुपमा नलिँदा समस्या जटिल बन्दै गएको स्थानीयको भनाइ छ । प्रहरीकै मिलोमतोमा कतिपय स्थानमा लागूऔषधको कारोबार तथा ओसारपसार हुने गरेको स्रोतले दावी गरेको छ ।

लागूऔषध कारोबारमा संलग्नहरुलाई सम्पत्ति शुद्धीकरण अन्तर्गत समेत अनुसन्धान गर्न सकिने प्रशस्त आधार भए पनि राजनीतिक दवाव तथा आर्थिक प्रलोभनमा परेर प्रहरीले यस्ता घटनामा चासो नदिने गरेको आरोप लाग्दै आएको छ ।

Source : Purwanchal

सम्बन्धित खबर