भानु जयन्तीमा युवा वैज्ञानिकसहित श्रष्ठाहरु सम्मानित
काँकरभिट्टा, २९ असार । ११२ औँ भानु जयन्तीमा विभिन्न क्षेत्रका चारजना प्रतिभाहरु सम्मानित भएका छन् ।
आज भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले काँकरभिट्टा बहुमुखी क्याम्पसको सभा हलमा आयोजना गरेको भानु जयन्तीमा प्रतिष्ठानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद उप्रेती, डा.लक्ष्मण मैनाली, साहित्यतर्फ पर्शुराम तिम्सिना र कला–संस्कृति तर्फ केसाङ लामालाई सम्मान गरेको हो ।
कार्यक्रममा साहित्यकार तिम्सिना र कलाकार लामालाई जनही ११ हजार नगद राशिसहित सम्मान गरिएको थियो । तिम्सिनालेहेमराज–मेदनी खरेल भानु साहित्यिक पुरस्कार र लामाले कृष्ण–पवित्रा उप्रेती भानु कला संस्कृति पुरस्कार पाएका हुन् ।
प्रतिष्ठानमा बसेर स्थापनाकालदेखि योगदान गरेका निवर्तमान अध्यक्ष उप्रेती र काँकरभिट्टा निवासी डा.मैनाली शल्याक्रिया विनै आँखाको मोतिया विन्दुको उपचार सम्भव गर्न सक्ने अमेरिकाको इडाहो राज्यस्थित बोइस स्टेट युनिभर्सिटीका भौतिकशास्त्रका प्रोफेसर युवा वैज्ञानिकलाई सम्मान गरिएको छ । निवर्तमान अध्यक्ष उप्रेती अस्वास्थका कारण सम्मान ग्रहणमा उपस्थिति हुन सकेनन् ।
सोहि अवसरमा कविता प्रतियोगिताका पुरस्कृत विद्यार्थीहरुलाई पनि नगदसहित सम्मान गरिएको थियो । कविता प्रतियोगितामा मेचीनगर–७ स्थित आदर्श माविका दिपेश राउत प्रथम, मेचीनगर–४ स्थित सरस्वती माविकी शिक्षा वस्नेत दोस्रो, मेचीनगर–६ स्थित काँकरभिट्टा क्याम्पसका दुर्गा भण्डारी तेस्रो र मेचीनगर–१० स्थित धुलाबारी नमूना माविका संरचना अधिकारी सान्तवना भएका थिए ।उनीहरुलाई क्रमशः ५ हजार, ३५ सय, २५ सय र १ हजार नगदसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठान संस्थापक एवम् संरक्षक दुर्गाप्रसाद आचार्यले भानु साहित्यिक प्रतिष्ठानको दर्ता, गठन र शालिक स्थापना गर्दासम्म भोगेका दुःखहरुलाई स्मरण गर्दै चर्चा गरेका थिए ।
कार्यक्रममा डा.मैनाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । डा.मैनालीको सम्मान पत्र बाचन र परिचयका विषयमा पत्रकार चन्द्र भण्डारीले प्रकाश पारेका थिए । त्यस्तै साहित्यकार पुण्यप्रसाद खरेलले आदिकवि भानु आचार्यको बारेमा चर्चा गरे ।
साहित्यकारहरुले कविता, गीत, नित्य लगायतका साहित्यिक कार्यक्रममा समेत प्रस्तुत भएको थियो । साहित्यिक कार्यक्रमको सञ्चालन कवि जय आचार्यले गरेका थिए भने भानुको भेषमा कवि केन्द्र भट्टराईले अभिनय गरेका थिए ।
भानु साहित्यिक प्रतिष्ठान मेचीनगरका अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष सुशिल आचार्य र सञ्चालन महासचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए ।
Source: Mechinagar online