Mechi Update

रसुवा बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुग्यो

शनिवार, असार २८, २०८२

काठमाण्डौ – माथिल्लो जलाधार क्षेत्रमा हिमताल विस्फोट भएर रसुवामा गएको मङ्गलवार आएको बाढीमा परेर ज्यान जानेको सङ्ख्या ११ जना पुगेको छ । त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै ज्यान जानेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म बाढीमा फसेका अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका गरी आठ सय ६२ जनाको उद्धार गरिएको छ । अहिलेसम्म एक जनाको शव सनाखत भएको छ भने अरु शवहरूको सनाखत हुन सकेको छैन । प्रहरी प्रधान कार्यालयका अनुसार अझै १९ जना बेपत्ता रहेका छन् । बाढीमा परेकाहरूको उद्धारका लागि एक हजार तीन सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बेपत्ताहरूको खोजी अहिले पनि चलिरहेको प्रहरीले जनाएको छ । बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको थियो । यस्तै २४ वटा कन्टेनर, छ वटा ट्रक र ४२ वटा विद्युतीय गाडी बगाएको छ । धुन्चेबाट टिमुरे जाने सडकमा ठूलो क्षति पुगेको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ । Source: ujyalo
सम्बन्धित खबर