काठमाण्डौ – पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । आज बिहान सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ इकुमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
इकु भन्ने ठाउँमा सडक माथिबाट पहिरो खसेको र तलबाट सडक भासिएकाले सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक बन्द भएपछि तातोपानी नाकाबाट काठमाण्डौ आउन लागेका गाडीहरु भन्सारमै रोकिएका छन् ।
गएको मङ्गलवार चीनतर्फबाट आएको बाढीले केरुङ नाकाको संरचना भत्काइदिएपछि त्यो नाकाबाट नेपाल आउन लागेका पर्यटकहरुलाई सिन्धुपाल्चोकको कोदारी नाकाबाट पठाइएको थियो । तर केरुङ र तातोपानी नाकाको दुवैतर्फको सडकमा क्षति भएपछि चीनसँगको सडक सम्पर्क तत्कालका लागि विच्छेद भएको छ ।
केरुङ नाका अवरुद्ध भएको कारण सिन्धुपाल्चोकको कोदारी हुँदै १२६ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसमध्ये ७२ जनालाई हेलिकप्टर र ६४ जनालाई बसमार्फत काठमाण्डौ पठाइएको सिन्धुपाञ्चोक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।
Source :- ujyalo