मेचीनगर, २५ असार । मेचीनगर नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सीप सिकेर उद्यमी बनेका दुई जना युवाले आजदेखि सैलुन व्यवसाय सुरु गरेका छन् ।
सीप सिकेर उद्यमी बनेका दिपेश तिवारी र सुनिलसिल शर्माले मेचीनगर–७, नगरपालिका गेट नजिकै आधुनिक सैलुन सञ्चालनमा ल्याएका हुन् ।
उनीहरुले सञ्चालन गरेको लगनशीलता सैलुनको रिविन काटेर उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
नगरप्रमुख बुढाथोकीले सीप सिकेर उद्यमी बन्न चाहानेलाई नगरपालिकाले तालिम, आर्थिक र प्राविधिक सहयोग गर्ने बताए ।
नगरप्रमुख बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले कपाल काटेर सैलुनको सुरुवात गरेका थिए ।
सैलुनका सञ्चालकहरुलाई पनि नगरपालिकाले आधुनिक प्रविधिको दुईवटा कुर्सी उपलब्ध गराएको छ ।
नगरपालिकाले सञ्चालन गरेको उद्यमशीलता र सीप विकास तालिममा सहभागी भएर सीप सिकेर आत्मनिर्भर बन्ने उदेश्यले सैलुन सञ्चालन गरिएको सञ्चालक तिवारीले बताए ।
उद्घाटन कार्यक्रमको सहजीकरण नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले गरेका थिए ।
Source : Mechinagar online