Mechi Update

अर्जुनधारामा महिलाहरुको सामूहिक कुटाइबाट युवतीको मृत्यु, पाँच जना पक्राउ

बुधवार, असार २५, २०८२

झापामा सामूहिक कुटपिटबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ४ भाङवारी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक प्रकाश गिरीको घरमा डेरा गरी बस्ने २२ वर्षीया गङ्गा राई रहेकी छन् । आफ्ना श्रीमान् रमेश भुसाल गङ्गाको कोठामा गएको भन्दै उनकी श्रीमती सुस्मिता भुसालले साथी भेला गरी सामूहिक रुपमा कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई गएराति साढे ११ बजे भोजपुर रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठे घर भई अर्जुनधारा ८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता बिक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदास बोलाएर कुटपिट गरेको बताइएको छ । घाइते उनलाई शंकर अस्पताल शनिश्चरे लगी सामान्य उपचारपश्चात् थप उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो । उनको उपचारको क्रममा सोही अस्पतालमा आज बिहानको राति १ः२० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । प्रहरीले कुटपिट घटनामा संलग्न पाँच जना महिला र सुस्मिता भुसालका श्रीमान् रमेश भुसाल समेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ । मृतकको शव पोस्मार्टका लागि भद्रपुर पठाउने तयारी भइरहेको जनाइएको छ । source : Purwanchal
सम्बन्धित खबर