Mechi Update

ड्रेनेज विना निर्माणाधीन काँकरभिट्टा–लौहकी सडकखण्ड डुबान र क्षतिको जोखिममा

बुधवार, असार १८, २०८२

सुरेश कुमार बुढाथोकी

धाइजन । एसियन हाईवे अन्तर्गत निर्माणाधीन काकरभिट्टा–विराटनगर सडकखण्डमा पानी निकासको व्यवस्था नगरी काम अघि बढाइँदा वर्षायाममा डुबान र क्षतिको समस्या भयावह बन्न थालेको छ। विशेषगरी धाइजन मोड र चारआली क्षेत्रमा ड्रेनेज अभावका कारण सवारी अवागमनमा अवरोध, बजार क्षेत्र डुबान, र बस्तीमा क्षति पुग्ने खतरा उच्च भएको छ।

हाल सडक विस्तारको काम भइरहेको भए पनि दुबै साइडमा नाली नबनाइनुले स्थानीयवासीहरू मारमा परेका छन्। पानीको निकास नहुँदा सडकमा पानी जम्ने, सवारी चलाउन गाह्रो हुने र पसल तथा घरमै पानी पस्ने अवस्था सिर्जना भएको छ।

चारालीका एक स्थानीय व्यापारी भन्छन्, ‘‘हाम्रो माग सानो छ—कम्तीमा दुबै छेउ नाली बनाइयोस्। असार–साउन लाग्नासाथ बजार डुब्ने अवस्था आउँछ, तर कसैले वास्ता गर्दैन।”

सडक विभाग र निर्माण कम्पनीको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको स्थानीय तह तथा नागरिक समाजको गुनासो छ। उनीहरू भन्छन्, ‘‘यदि तत्काल आवश्यक समाधान नगरिए सवारी दुर्घटना, जनस्वास्थ्यमा जोखिम, र व्यापारिक क्षति झनै बढ्नेछ।”

पूर्वाधार विज्ञहरूका अनुसार दीर्घकालीन योजना र वैज्ञानिक सोचबिनाको विकासले भविष्यमा ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ। त्यसैले धाइजन मोड, चारालीलगायतका संवेदनशील क्षेत्रमा तत्काल ड्रेनेज निर्माणका लागि सरोकारवाला निकायले पहल गर्नुपर्नेमा स्थानीयको जोडदार माग रहेको छ।

सम्बन्धित खबर