Mechi Update

महालेखाले भन्यो, प्रमुख र उपप्रमुखको बेलायत भ्रमणमा अविश्वसनीय खर्च

सोमवार, असार १६, २०८२

मेचीनगर, असार १६ । झापाको मेचीनगर नगरपालिकाका प्रमुख र उपप्रमुखले विदेश भ्रमणका लागि गरेको खर्चलाई लिएर महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखाले आर्थिक बर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवदेनमा मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मिना पोखरेल उप्रेती वेलायत भ्रमणमा जाँदा उपहार खरिदका नाममा गरिएको खर्चलाई अधिक र अविश्वसनीय भनेको छ । महालेखाले प्रतिवेदनमा लेखेको छ,‘नगर प्रमुख र उपप्रमुख गरी २ जनाको भ्रमण भएता पनि अधिक एवं अविश्वसनीय संख्यामा उपहार सामाग्री खरिदको बिल संलग्न गरी भुक्तानी लिएको पाइयो ।’नगरपालिकाले उपहार खरिद गर्ने प्रयोजनका लागि उपप्रमुख मिना पाखेरेल उप्रेतीका स्वकीय सचिव लक्ष्मी प्रसाद उप्रेतीका नाममा ४ लाख १७ हजार ६०० रुपैयाँ पेश्की लिएर खर्च गरिएको महालेखाले जनाएको छ ।

पत्रकार समेत रहनु भएका उपप्रमुखका स्वकीय सचिव उप्रेतीले लिएको पेश्की रकमबाट उपहारका लागि भनेर पस्मिना, खादा, खुकुरी लगायतका सामाग्री खरिद गरेको र त्यो खर्च अधिक र अविश्वसनीय भएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ । महालेखाले यस्ता खाले खर्चमा मितव्ययिता अपनाउन नगरपालिकालाई सुझाव समेत दिएको छ । गोर्खा मेमोरियल फण्ड बेलायतको सहजीकरणमा मेचीनगरका प्रमुख बुढाथोकी र उप्रमुख उप्रेतीले २०८० असोजमा बेलायतको भ्रमण गर्नुृ भएको थियो ।

श्रोत सेतोपत्र

सम्बन्धित खबर