मेचीनगर। मेचीनगर–६ स्थित सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुलमा स्काउट ट्रुप लिडर चयन लोकतान्त्रिक प्रक्रिया अनुसार निर्वाचनद्वारा सम्पन्न भएको छ। छात्र र छात्रा दुवैतर्फबाट एक–एक जना ट्रुप लिडर चयन गरिने व्यवस्थाअनुसार भएको निर्वाचनमा छात्रातर्फ साइस्ना कोइराला र छात्रतर्फ रिदम निरौला विजयी भएका छन्।
साइस्ना कोइरालाले ४३ मत प्राप्त गर्दा रिदम निरौलाले ४० मत प्राप्त गरी आगामी एक वर्षका लागि स्काउट ट्रुपको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन्। त्यस्तै छात्रा तर्फ ५ र छात्र तर्फ ४ जना उम्मेदवार रहेका थिए ।
निर्वाचन अधिकृत एस.पी. लुइटेलका अनुसार बुथ निर्माण गरी गोप्य मतदानको माध्यमबाट निर्वाचन सम्पन्न गरिएको हो। कुल ९१ मतदाता मध्ये ८८ जनाले मतदानमा सहभागिता जनाएका थिए भने एक मत बदर भएको थियो।
नतिजा सार्वजनिक भएसँगै विद्यालयका प्रधानाध्यापक तथा स्काउट हेड शिव मैनालीले विजयी उम्मेदवारहरूलाई बधाई दिँदै भविष्यमा अझ जिम्मेवार नेतृत्व प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
स्काउट मास्टर प्रभाष सुवेदीको संयोजनमा सम्पन्न सम्मान कार्यक्रममा विजयीहरूलाई अबिर र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
विद्यालयले हरेक वर्ष यस किसिमको निर्वाचनमार्फत विद्यार्थीहरूलाई नेतृत्व, सहभागिता र लोकतान्त्रिक मूल्यको अभ्यास गराउने परम्परा कायम राख्दै आएको विद्यायलका शैक्षिक संयोजक शिक्षक रामचन्द्र पौडेलले बताउनुभयो ।