नयाँदिल्ली- भारतले पाकिस्तान अधिनस्थ कश्मीरमा मंगलबार मध्यराति आक्रमण गरेयता ज्यान गुमाउनेको संख्या कम्तीमा ३६ पुगेको छ।
पाकिस्तानी क्षेत्रबाट गोली हानिँदा ज्यान गुमाउने भारतीयको संख्या १० पुगेको हो । भारतीय सैन्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले प्रकाशित गरेको समाचार अनुसार पाकिस्तानी क्षेत्रबाट भएको आक्रमणका १० जना मारिँदा ३२ जना घाइते भएका छन् ।
भारतीय सेनाका अनुसार, पाकिस्तानले भारत नियन्त्रित जम्मू-कश्मीरको पुंछ जिल्लामा पर्ने भिम्बर क्षेत्रमा तोपबाट गोला हानेको थियो । जुन दुवै देशबीचको वास्तविक नियन्त्रण रेखा (एलओसी) नजिक पर्छ।
उता पाकिस्तानले भने भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको जनाएको छ । मंगलबार राति भएको हवाई हमलाका क्रममा ४६ जना घाइते भएको जानकारी पाकिस्तानी अधिकारीले दिएका छन् ।
भारतले पाकिस्तान नियन्त्रित भूभागमा मिसाइल प्रहार गर्दा एक बालकसहित कम्तीमा २६ जनाको मृत्यु भएको पाकिस्तानले स्वीकारेको छ ।
यद्यपि भारतले भने यी हमला सर्वसाधारणमाथि नगरिएको जिकिर गरेको छ । तर पाकिस्तानले मारिनेहरू सबै सर्वसाधारण भएको जनाएको छ। भारतले पनि पाकिस्तानी सेनाका कुनै पनि संरचनालाई लक्षित गरेर आक्रमण नगरिएको जनाएको छ ।
भारतले गत महिना कश्मीरमा भएको पर्यटक हत्याकाण्डमा संलग्न चरमपन्थीहरूद्वारा प्रयोग गरिएका संरचनालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ।
पाकिस्तानले जवाफी कारबाहीस्वरूप भारतका केही लडाकु विमानहरू खसालिएको दाबी गरेको छ । जसमा दुई विमान भारत-नियन्त्रित कश्मीरको गाउँमा खसेका थिए । भारतीय प्रहरी र स्वास्थ्यकर्मीका अनुसार त्यस क्षेत्रमा पाकिस्तानी गोलाबारीमा कम्तीमा सात सर्वसाधारण मारिएका छन्।
पहलगाममा चरमपन्थी हमलापछि दुई परमाणुशक्ति सम्पन्न छिमेकीबीचको तनाव उच्चतम बिन्दुमा पुगेको छ । भारतले यस हमलाको दोष पाकिस्तानलाई दिएको छ, तर इस्लामाबादले त्यो आरोप अस्वीकार गरिसकेको छ ।
गत महिना कश्मीरमा भएको पर्यटकहरूमाथिको प्राणघातक हमलापछि भारत र पाकिस्तानबीचको सम्बन्ध झन् चिसिएको हो । उक्त घटनामा मारिएका २७ जनामध्ये अधिकांश भारतीय हिन्दुहरू थिए ।
दुवै देशले पहलगाम घटनापछि कूटनीतिज्ञहरू र नागरिकहरूलाई फिर्ता बोलाएका छन् । सिमाना र एकअर्काको हवाई क्षेत्र पनि बन्द गरिुसकेका छन् ।
भारतले मिसाइलहरू पाकिस्तान नियन्त्रित कश्मीर र देशको पूर्वी पञ्जाब प्रान्तका छ स्थानमा प्रहार गरेको थियो ।
जसमा महिलाहरू र बालबालिकासहित कम्तीमा २६ जनाको मृत्यु भएको पाकिस्तानका सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफले बताएका छन्। भारतको रक्षा मन्त्रालयका अनुसार कम्तीमा नौ स्थानलाई निशाना बनाइएको थियो । जहाँबाट भारतमा आक्रमणको योजना बनाइएको आरोप लगाइएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतीय कदमलाई युद्धको घोषणा भनेका छन् । ‘भारतद्वारा थोपरिएको यस युद्धको कदमको जवाफ दिन पाकिस्तानलाई पूर्ण अधिकार छ, हामी बलियो जवाफ दिनेछौँ ।’ समाचार: खबरहवबाट
तस्बिरहरू : डन अनलाइन


