झापा । प्रहरी संगठन भित्र चरम राजनीतिक हस्तक्षेप छताछुल्ल हुँदै गइरहेको छ। सोही क्रममा विवादित छबीका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बु राजनीतिक आडबाटै झापा आएका छन् ।
उनी चितवनबाट सरुवा भएर झापा आएका हुन् । झापा प्रहरी प्रमुखको रूपमा सरुवा भएका लिम्बुको राजनीतिक पहुँचका कारण प्रहरीको सरुवा मापदण्ड मिचेर झापा आएका हुन् । सरुवा प्रक्रिया सामान्य प्रशासनिक निर्णय भए पनि, लिम्बुको सरुवा राजनीतिक पहुँचको प्रभावमा भएको भन्ने आरोपहरू उठेका छन् ।
सामान्यतया एक जिल्लाको प्रमुखबाट अर्काे जिल्लाको प्रमुखमा सरुवा हुँदैन । चितवन मन नपरेको भन्दै लिम्बूले झापा मागेर आएको स्रोतको दावी छ । उनी प्रधानमन्त्री केपी ओलीको पूर्वपिएसओ भएकाले नियम मिचेर सरुवा गरिएको स्रोत बताउँछ । सत्ताको आडमा लिम्बुका अघि प्रहरी महानिरीक्षक दीपक थापा निरिह देखिएका हुन् ।
प्रधानमन्त्री ओलीको निकट भएका कारण उनका लागि मापदण्ड उल्लंघन गरिएको बुझिएको छ । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अघिल्लो कार्यकालमा प्रधानमन्त्री रहेका बेला उनी व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) का रूपमा कार्यरत थिए । यस कारण, उनीमाथि एमाले निकटता र राजनीतिक संरक्षणको आरोप लाग्दै आएको छ।
०७४ सालमा लिम्बु दमकमा प्रहरी नायब उपरीक्षक (डीएसपी) का रूपमा कार्यरत थिए। त्यसबेला स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट दमककाे नगर प्रमुखका उम्मेदवार रोमनाथ ओलीलाई सहयोग गरेको आरोप उनीमाथि लागेको थियो । उनलाई अन्य उम्मेदवार मौन अवधिमा पैसा बाँड्ने एमाले कार्यकर्तालाई सहयोग गरेको आरोप लगाएका थिए ।
त्यसबेला मतगणना गर्न स्थलमा प्रवेश गर्नसमेत अन्य उम्मेदवारले अवरोध गरेका थिए । यस्तै, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि इलाममा सुवास नेम्वाङलाई जिताउन विशेष सहयोग गरेको आरोप छ । खासगरी चुलाचुली क्षेत्रमा उनले मिहिनेत गरेका थिए । त्यसबेला प्रहरी निरीक्षक रहेका उनी इलाका प्रहरी कार्यालय मंगलबारेको इञ्चार्ज थिए । पछि सुवास नेम्वाङ सभामुख भएपछि उनी व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) गए । पिएसओ हुँदै उनी प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए।
यस्तै, ०८० सालको भदौ महिनामा ताप्लेजुङ जिल्ला प्रहरी प्रमुख हुँदा कोशी प्रदेशका कांग्रेस सांसद खगेनसिंह हाङगामसँग उनको चरम विवाद भएको थियो। सांसद हाङगामसँग विवादको घटनापछि कांग्रेस नेताहरू लिम्बुसँग असन्तुष्ट भएका थिए । ०८१ कात्तिकमा , लिम्बुलाई मोरङ जिल्ला प्रहरी प्रमुखको रूपमा काज सरुवा गरिएको थियो । तर, कांग्रेस नेताहरूको असहमति र दबाबका कारण तीन दिनमै उनको काज रद्द गरिएको थियो । कांग्रेस नेताहरूले लिम्बुको एमाले निकटता र विगतका विवादहरूलाई कारण देखाउँदै असन्तुष्टि जनाएका थिए । त्यसपछि उनलई चितवन पठाइएको थियो ।