Mechi Update

प्रेस क्लब मेचीनगरका कोषाध्यक्ष थापा साधारण सदस्य नरहने गरी निलम्बित

मङ्गलवार, चैत १२, २०८१

मेचीनगर ।  प्रेस क्लब मेचीनगरले कोषाध्यक्ष दिलिप थापालाई सदस्य समेत नरहने गरी कार्वाही गरेको छ । थापाले राजिनामा दिएको भए पनि उनी विभिन्न गैर कानुनि क्रियाकलापमा संलग्न रहेको भन्दै प्रहरीमा मुद्धा रहेकोले निलम्बन गरेको हो ।

विभिन्न मुद्धामा प्रहरीले खोजिरहेको जानकारी आएको कारण उनलाई निलम्बन गरिएको प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडलले बताए । प्रेस क्लबको नविकरण लगायतका कामले जिल्ला प्रशासन कार्यालय झापामा आफूहरु गएको बेला सम्पूर्ण कार्यसमिति सदस्यहरुको चारित्रिक विवरण बुझ्न जिल्ला प्रहरी कार्यालय झापालाई पत्र काटेको र प्रहरीमा थापा विरुद्ध विभिन्न ३ वटा मुद्धामा अनुसन्धान भईरहेको बुझिएको छ । थापामाथी बैंकिङ्ग कसुर, विष्फोटक पदार्थ ओसार पसार लगायतका मुद्धा रहेको प्रहरीले जनाएको छ ।

थापा प्रेस क्लबमा रहे संस्था दर्ता नविकरण नै नहुने भएपछि मंगलबार आकस्मिक बैठक बसी उनलाई साधारण सदस्य समेत नरहने गरी कार्यसमितिले निलम्बन गरेको हो । उक्त कुराको जानकारी पाएपछि थापाले क्लबलाई राजिनामा समेत दिएका थिए, तर विभिन्न कसुरमा उनि मुछिएको भएपछि यो कार्वाहि गरिएको हो ।

निलम्बित थापा रातो पोष्ट साप्ताहिक तथा अनलाईनका सम्पादक र बोर्डरल्याण्ड दैनिकका कार्यकारी सम्पादक हुन । विभिन्न मुद्धामा कसुरदार रहेको हुदाँ पनि कसरी जिल्ला प्रशासन कार्यालय झापाले उनलाई पत्रिकाको सम्पादकको जिम्मेवारी दियो भन्नेमा समेत प्रश्न उब्जिएको छ । पत्रिकाको सम्पादक बन्न जिल्ला प्रशासन कार्यालयले शैक्षिक योग्यता, अनुभव र प्रहरीले दिएको चारित्रिक विवरणको प्रमाण खोज्ने गर्दछ, तर यस्तो त्रुटि हुनको पछाडी प्रशासनका कर्मचारीलाई प्रभावमा पारेको समेत शंका छ ।

थापा प्रकाशक र सम्पादक रहेको रातो पोष्ट साप्ताहिक र अनलाईन दर्ता गराउँदा काँकरभिट्टा कै एक दैनिक पत्रिकाले किर्ते अनुभवको प्रमाण पत्र दिएको समेत बुझिएको छ । उनी कार्यरत दैनिक पत्रिका बोडरल्याण्ड दैनिकका अध्यक्ष भिमबहादुर कुँवरले थापाको विषयमा तुरुन्तै बैठक बस्ने जानकारी गराए । उनले यदि थापालाई प्रहरीले खोजिरहेको र उनी दोषी भएको खण्डमा कानुनि कार्वाहि हुनुपर्ने समेत बताए । उता थापा भने जनयुद्ध ताका कै मुद्धा रहेको र फैसला समेत भएको तर प्रहरीमा डकुमेण्ट नबुझाएको कारण उक्त मुद्धामा प्रहरीले खोजि गरिरहेको भन्दै पन्छिएका छन् ।

सम्बन्धित खबर