इलाम । सन्दकपुरमा ग्रामिण पर्यटन सम्बन्धि एकदिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सपन्न भएको छ । शनिबार पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा सन्दकपुर गाँउपालिका ३ स्थित देउराली इलाममा होम–स्टेको विकासमा समुदाय र पर्यावरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको हो ।
सन्दकपुर गाँउपालिका ३ का चेत बहादुर सुवेदीले पर्यावरण बुझ्न र माइपोखरीको पानी जोगाइ राख्नको महत्व कार्यक्रममा आएर बुझेको बताए । सोही ठाँउका स्थानिय रोमनाथ भट्टराईले माइपोखरी रामसार क्षेत्रका रैथाने वनस्पती, जंगली जनावर र चराहरु त्यहाँको लागि पर्यटक अकर्षित गर्ने मुख्य कारण रहेको बुझे । तराई तथा शहरबाट अनुसन्धाता, विद्यार्थी तथा पर्यटक माइपोखरीसम्म आएर रहँदा त्यहाँको संस्कृति, रैथाने खाना र ठाँउको प्रचार हुने र सोही कुरालाई आय आर्जनको माध्यम बनाउन सकिने कुराको महत्व थप गहिरिएर बुझ्न पाएको कुरा सुवेदी र भट्टराईले जस्तै अरु सहभागिहरुको रह्यो ।

कोदोको शेल रोटी, तरकारी र चियाको चुस्की लिदैँ सहभागीहरुले सहजकर्ता सागर शिवाकोटीले तयार पारेको विभिन्न सामाग्री मार्फत पर्यावरणको महत्व र पर्यटनको सम्भावनाहरु बारे बुझ्ने अवसर पाएकोमा भालुकटेरी सामुदायिक वनकी अध्यक्ष रमिला राई मगरले खुशी व्यक्त गरिन । उनले वन संरक्षमा समुदायको भुमिका र प्लाष्टिकजन्य फोहोरको व्यवस्थापनमा आफँले गरेको अभ्यासको चर्चा गर्दै यस्तो किसिमको कार्यक्रमले पर्या पर्यटन र संरक्षणमा खुबै टेवा पुग्ने बताइन । त्यस्तै सन्दकपुर माइपोखरी सामुदायिक होम–स्टेका ठाकुर प्रसाद राईले पर्यटन कार्यालय काँकरभिट्टाले गाँउ र पहाडका सम्भावनायुक्त ठाँउहरुमा होम–स्टे र पर्यटन सम्बन्धि गरेको कर्मको प्रशंसा गरे । उनले होम–स्टेका समस्या र चुनौतिहरुको कुरा गर्दै संरक्षणकर्मी देवेन्द्र खरेलले गरेको चरासम्बन्धि प्रस्तुति र दिएको चेतनाले आँफूहरुले गर्नुपर्ने धेरै कुरा रहेको भन्दै एक साताको चरा खोज सम्बन्धि कार्यक्रमको आयोजना गर्ने बताए ।

कार्यक्रममा नेपालको ग्रामिण विविधता, संरक्षण र पर्या पर्यटनका अवसर, सम्भावना र चुनौतीका बारेमा पर्यटन कार्यालय काँकरभिट्टाका अधिकृत निरोज कट्टेलले प्रष्ट पार्दै कार्यक्रमको औचित्यबारे प्रकाश पारे । कार्यक्रममा चरा र वन्यजन्तु सम्बन्धि देवेन्द्र खरेलले तथा होम–स्टेको विकासमा सुदाय र वर्यावरण सम्बन्धि सागर शिवाकोटीले प्रस्तुति÷सहजिकरण गरेका थिए । त्यस्तै औपचारिक कार्यक्रमको सञ्चालन होम–स्टे महासंघ कोशी प्रदेशकी अध्यक्ष लिला देवी भट्टराईले गरेकी थिइन । कार्यक्रम भालुकटेरी सामुदायिक वनको सभाहलमा सम्पन्न भएको थियो ।