मेचीनगर, ११ साउन । मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ ।
नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् ।
मेचीनगर–३ का ३६ वर्षीय एक जना पुरुष र वडा नम्बर ५ की ५५ वर्षीया महिलामा उक्त सङ्क्रमण भएको छ । वडा नम्बर ३ का पुरुषलाई जुलाई १ तारिख र महिलालाई १४ जुलाईमा उक्त संक्रमण भएको थियो । उनीहरुलाई बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गरिएको थियो ।
स्वास्थ्य शाखाका अनुसार पुरुष उपचारपछि घर फर्किएका छन् भने महिलाको उपचार भइरहेको छ । उनको अवस्था अहिले सामान्य हुँदै गएका गएको छ ।
आज नगरपालिकामा स्वास्थ्य शाखाको वैठकमा डब्ल्यूएचओकी काठमाडौँ प्रतिनिधि डा.सोनिया मगरले उक्त रोगको संक्रमण पुष्टि भएको बताएकी थिइन् ।
डा.मगर, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी, प्रादेशिक अस्पताल भद्रपुरकी डा.संगीता साह,ले यसको लक्षण र बच्ने उपायका बारेमा समुदायमा सचेतना गर्नु पर्ने आवश्यक रहेको बताएका थिए ।
छलफलमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले यो रोगको संक्रमण हुन नदिन स्वाथ्यकर्मीहरुलाई घरघरमा पुगेर जनतालाई सचेतना र संक्रमणको लक्षण देखा परे समयमा नै स्वास्थ्य केन्द्र र नगर अस्पतालमा उपचार गराउन अनुरोध गरेका थिए ।
संक्रमणको अवस्था जटिल बने डाक्टरहरुको सल्लाहमा प्रादेशिक अस्पताल भद्रपुरमा व्यवस्था मिलाउन समन्वय गरिने उनीहरुको भनाई छ ।
छलफलमा ३ नम्बर वडाका वडाध्यक्ष हर्कबहादुर वस्नेत, वडा नम्बर ५ का वडाध्यक्ष कनकबहादुर कार्की, पशु शाखा, कृषि शाखा लगायतका स्वास्थ्यकर्मीहरुले संक्रमणबाट बच्न, रोकथाम गर्न तीन तहको सरकारको ध्यानाकर्षण हुनु पर्ने बताएका थिए ।
गत वर्ष उक्त रोगबाट मेचीनगर–७ का एकजनाको ज्यान गएको थियो । यसअघि यही रोगका कारण नेपालमा करिव २५ जनाको ज्यान गएको थियो ।
जापानीज इन्सेफलाइटिस के हो ?
जापानीज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग लामखुट्टेको तोकाइबाट सर्ने गर्दछ । जापानीज इन्सेफलाइटिस जनवारलाई टोकेर मानिसलाई टोकेमा सर्ने भाइरसजन्य रोग हो । यो रोग मानिसको स्नायुमा असर पुर्याइ अंगभंग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने गरेको छ ।
यो रोग सबै उमेर समूहका मानिसलाई संक्रमण हुने भएपनि १५ वर्ष मुनिका बालबालिका जोखिममा हुने गर्छन् । जापानीज इन्सेफलाइटिस सर्ने भाइरसबाट संक्रमित जनावर (हाँस, कुखुरा, सँगुर, बँगुर, घरपालुवा चरा, बकुल्ला )लाई लामखुट्टेले टोकेर सो लामखुट्टे संक्रमित हुन्छ । त्यस लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्छ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
लक्षण कस्तो हुन्छ ?
बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाँटीमा गाह्रो हुने, कमपन हुने, पक्षघात हुने यो रोगको प्रमुख लक्षण रहेको छ । यदि यो रोगको समयमा उपचार नभए बिरामीको मृत्यु समेत हुन सक्ने छ । यो रोग लागेको तीन दिनमा उपचार पाएमा निको हुने तर ढिलो भएमा अवस्था गम्भीर हुने छ । यो रोग लागे १० दिनदेखि १४ दिनसम्म अस्पताल बस्नु पर्नेछ ।
रोगबाट कसरी बच्ने ?
जापानीज इन्सेफलाइटिसबाट जोगिने लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय रहेको छ । यो रोगबाट बच्न शारिर ढाक्ने कपडा लगाउने, झुलभित्र सुत्नु पर्छ ।
हाँस, कुखुरा, सँगुर, बँगुर, घरपालुवा चरा, बकुल्ला जस्ता जनावरहरुलाई व्यवस्थित तरिकाले घरदेखि टाढा खोरामा पाल्ने । बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएका कपडा लगाउनु पर्ने छ ।
यो रोगबाट बच्नका लागि बालबालिकालाई १२ महिनामा जेई खोप लगाउनु पर्छ । यदि यो खोप लिन छुटेको छ भने ५ वर्षको उमेरमा पनि जेई खोप लगाउन सकिनेछ ।
source : Mechinagar online