Mechi Update

पूर्वीनाकाबाट सर्वाधिक निर्यात हुने बस्तु ‘अलैची’

मङ्गलवार, साउन ७, २०८२

झापा, ५ साउन । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१/८२ मा निर्यात भएको मुख्य दश वस्तुमा ‘अलैची’ शीर्ष स्थानमा रहेको छ । मेची भन्सार कार्यालयले आव २०८१/८२ मा काँकडभिट्टा नाका हुँदै रु. सात अर्ब ६७ करोड ४० लाख ३७ हजार मूल्य बराबरको ४२ लाख ९४ हजार ५५० केजी अलैची निर्यात भएको जनाएको छ । पूर्वी नेपालको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर लगायतका पहाडी जिल्लामा अलैचीको उत्पादन हुन्छ । पहाडी जिल्लामा उत्पादित अलैची प्रशोधित गरेर पूर्वीनाका काँकडभिट्टा हुँदै भारत निर्यात हुन्छ । अलैचीपछि सर्वाधिक निर्यात भएको दश वस्तुहरुमा फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर पत्ति, मोलासिस, अदुवा र सिमेन्टको क्लिङ्कर रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुँमागाईले बताउनुभयो । उहाँका अनुसार आव २०८१/८२ मा रु. चार अर्ब ४२ करोड २७ लाख ७२ हजार मूल्य बराबरको तीन करोड ८२ लाख ७१ हजार ८९७ केजी फलामे पाता निर्यात भएको छ । सर्वाधिक निर्यात हुने तेस्रो बस्तुमा चिया रहेको छ । चिया, अलैची र अदुवा पूर्वी नेपालको नगदे कृषि उत्पादन हो । झापा, इलाम र पाँचथर लगायतका जिल्ला चिया खेतीका लागि प्रख्यात छन् । आव २०८१/८२ मा पूर्वीनाका काँकडभिट्टा भएर रु. चार अर्ब २१ करोड ३५ लाख ९२ हजार मूल्य बराबरको एक करोड ५४ लाख १६ हजार ७५७ केजी चिया निर्यात भएको छ । आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा चियाको निर्यात ३२.५ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी हुमागाईले बताउनुभयो । आव २०८०/८१ मा पूर्वीनाकाबाट रु. तीन अर्ब १७ करोड ९५ लाख २७ हजार मूल्य बराबरको एक करोड ३४ लाख ६६ हजार ३६ केजी चिया निर्यात भएको थियो । चियापछि सर्वाधिक निर्यात हुने बस्तुमा प्लाइउड रहेको छ । आव २०८१/८२ मा रु. तीन अर्ब ३२ करोड ८९ लाख ९९ हजार मूल्य बराबरको प्लाइउड निर्यात भएको छ । दुधबाट बनिने छुर्पी तेस्रो मुलुकमा कुकुर वा विरालोको खानाको रुपमा निर्यात हुने गरेको छ । छुर्पी पूर्वीनाकाबाट सर्वाधिक निर्यात हुने बस्तुमा पाँचौ स्थानमा छ । आव २०८१/८२ मा रु. एक अर्ब ४१ करोड ७१ लाख चार हजार मूल्य बराबरको आठ लाख १५ हजार ५०५ केजी छुर्पी निर्यात भएको भन्सारको तथ्यांकले जनाएको छ । पूर्वी पहाडमा उत्पादन हुने अम्लिसो पूर्वीनाकाबाट निर्यात हुने दश बस्तुको सूचीमा छैठौं स्थानमा छ । सातौं स्थानमा भेनियर पत्ति, आठौं स्थानमा मोलासिस, नवौं स्थानमा अदुवा र दशौं स्थानमा सिमेन्टको क्लिङ्कर रहेको छ । आव २०८१/८२ मा पूर्वीनाकाबाट रु. ९५ करोड ६६ लाख ७५ हजारको अम्लिसो, रु. ९४ करोड ५६ लाख ६० हजारको भेनियर पत्ति, रु. रु. ५१ करोड एक लाख ७३ हजारको मोलासिस, रु. २९ करोड ६० लाख ९१ हजारको अदुवा र रु. २८ करोड ४१ लाख आठ हजार मूल्य बराबरको सिमेन्टको क्लिङ्कर निर्यात भएको भन्सारले जनाएको छ । Source: loktrantra post
सम्बन्धित खबर