Mechi Update

टोल विकास संस्था: स्थानीय समृद्धिको जग

बिहिवार, भदौ १२, २०८२

  मेचीनगर नगरपालिका–४ बाहुन्डागीले विगतका दिनदेखि अहिलेसम्म धेरै कथा बोकेको छ। यहाँका खेतबारी, बाटाघाटा, चौतारो र पधेरोहरूले हाम्रो जीवन, हाम्रो संघर्ष र हाम्रो संस्कृति सजाएका छन्। बिहानै बुढापाकाको कथा सुन्दै चौतारोमा चिया पिउँदा सुरु भएको दिन साँझमा बाटो काट्दै फर्किने नातेदार, गीत गाउँदै खेतमै काम गर्ने महिला, खेल्दै–कुद्दै हुर्केका बालबालिका—यी सबै जीवनका रंगहरू हरेक टोल–टोलमा लेखिएका छन्। तर आजको समाजलाई अझ सुन्दर, सुरक्षित र समृद्ध बनाउन नयाँ ऊर्जा र संस्थागत आधार आवश्यक छ। त्यही उद्देश्यले टोल विकास संस्थाहरूलाई क्रियाशील बनाउनुपर्ने आवश्यकता अझ बलियो रूपमा देखा परेको छ। टोल संस्थाको भूमिका टोल विकास संस्था भनेको केवल बैठक बस्ने औपचारिकता होइन, यो त जीवनलाई व्यवस्थित गर्ने आधार हो। प्रत्येक टोलमा यदि संस्था बलियो हुन्छ भने सडकबत्ती समयमै बल्छ, बाटो समयमै मर्मत हुन्छ, पधेरो सफा हुन्छ, चौतारोमा बुढापाकाको कथा सुनिन्छ।, सार्वजनिक जग्गाहरूमा वृक्षरोपण हुन्छ, बालबालिकाहरुको खेल्ने मैदान सुरक्षित हुन्छ, विद्यालय र स्वास्थ्यचौकीले समुदायको साथ पाउँछ। संस्था सक्रिय भएमा केवल भौतिक संरचना मात्र होइन, सामाजिक, सांस्कृतिक र आर्थिक जीवनले पनि गति लिन थाल्छ। महिला समूहहरूलाई उद्यमशीलतामा जोड्ने, युवालाई खेलकुद र सिर्जनात्मकतालाई प्रोत्साहन गर्ने, बृद्धबृद्धालाई स्नेह र सम्मान दिने काम पनि टोल संस्था नै गर्ने हो। मौलिक संस्कृति र सामाजिक एकता सधैँ कायम राख्नुपर्छ।। हाम्रो समाजको शक्ति नै विविधता हो। विभिन्न जातजाति, धर्म, भाषा र परम्पराले यहाँको टोललाई रङ्गीन बनाएका छन्। संस्कृतिको संरक्षण र प्रवर्द्धन टोल संस्था सक्रिय भएर मात्र सम्भव हुन्छ। मन्दिरमा लाग्ने मेला–पर्व, खेलकुद लोसार उधौली उभौली, नृत्य, दशैं–तिहारका रौनक आदि यी सबै कार्यक्रमलाई संस्थागत बनाएर टोलमा मात्रै सीमित नराखी नगरकै गौरव बनाउन सकिन्छ। सडकबत्ती र सुरक्षाको सवाल दुरुस्त राख्न टोल विकास पनि सक्रिय रहनुपर्छ। आज पनि धेरै टोलमा अँध्यारो छाउँदा सुरक्षाको प्रश्न उठ्छ। सडकबत्ती नभएकाले दुर्घटना र अपराध बढ्ने सम्भावना रहन्छ। सक्रिय टोल संस्थाले वडा /नगरसँग सहकार्य गरेर ‘प्रत्येक टोल उज्यालो टोल’ बनाउने अभियान अगाडि बढाउन सक्छ। अँध्यारोलाई उज्यालोले जितेपछि केवल सडक मात्र होइन, भविष्य पनि उज्यालो हुन्छ। बाटाघाटा, पधेरो र चौतारो स्थापित गर्न जरुरी छ हाम्रो इतिहास र कथा जोडिएको छ। यी केवल भौतिक संरचना होइनन्, हाम्रो स्मृतिको हिस्सा हुन्। बुढापाकाले भनेको सुन्छौं “यस चौतारोमा हामीले वास बस्यौं, यसै बाटो भएर स्कूल हिँड्थ्यौं, यस पधेरोमै पानी खायौं।” त्यसैले टोल संस्थाले यिनको संरक्षण गर्नु भनेको हाम्रो इतिहासको रक्षा गर्नु हो। नयाँ पुस्ताले पुरानो पुस्ताको कथा सुनेर भावी जीवनलाई दिशा दिन सकून् भन्ने जिम्मेवारी पनि टोलकै हो। "स्वास्थ्य, शिक्षा र सिर्जना जीवन्त गहना।" सक्रिय टोल संस्थाले विद्यालयलाई राम्रो बनाउन सक्छ, शिक्षक र अभिभावकबीच संवाद बढाउन सक्छ, खेल मैदान विस्तार गर्न सक्छ, बालबालिकालाई कला, संगीत र साहित्यतर्फ प्रेरित गर्न सक्छ। स्वास्थ्यका दृष्टिले सरसफाइ, खानेपानीको गुणस्तर र सामुदायिक स्वास्थ्य परीक्षणजस्ता अभियान पनि टोलबाटै सुरु हुन्छन्। नगर र टोलको सहकार्य अत्यन्त आवश्यक छ। मेचीनगर नगरपालिकाले नीति–कार्यक्रम ल्याउँछ, तर त्यसलाई कार्यान्वयन गर्ने शक्तिशाली आधार टोल संस्था हो। सडक, पुल, कालोपत्रे, खानेपानी, स्वास्थ्य चौकी, विद्यालय—यी सबै योजनामा टोलले साझेदार भएर जिम्मेवारी लिन सके विकास तीव्र हुन्छ। टोल संस्थालाई निष्क्रिय वा औपचारिकतामा सीमित नराखौं। यसलाई जीवन्त र क्रियाशील बनाएर हाम्रा टोललाई केवल बसोबासको ठाउँ नभई संस्कृतिको आँगन, समृद्धिको आधार र भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनाऔं। आजको हाम्रो प्रतिज्ञा यही हो—“प्रत्येक टोल सक्रिय, प्रत्येक टोल उज्यालो, प्रत्येक टोल समृद्ध ।
सम्बन्धित खबर