Mechi Update

मेचीनगरपालिकामा महिला लक्षित सीप विकास केन्द्र सञ्चालनमा

बिहिवार, असार १२, २०८२

 

१२ असार, मेचीनगर:  झापाको मेचीनगर नगरपालिका भित्र रहेका महिलाहरूलाई विभिन्न सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउन ‘महिला सिप विकास केन्द्र’ बिहिवारबाट पूर्णरुपमा सञ्चालनमा आएको छ । सीप विकास केन्द्र सञ्चालनमा आएपछि स्थानीय महिला खुशी भएका छन् । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले एक कार्यक्रमको बिच उक्त केन्द्रको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दैं नगरप्रमुख बुढाथोकीले तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका छन् । सरकारी र निजीस्तरबाट थुप्रै जीवन उपयोगी तालिम सञ्चालन हुने गरेको बताउँदै नगरप्रमुख बुढाथोकीले तर त्यसको उपलब्धि भने एकदमै न्यून हुने गरेको जिकिर गरे । नगरप्रमुख बुढाथोकीले जीवन उपयोगी तालिमले स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

मेचीनगर नगरपालिकासहित सबै स्थानीय तह र अन्य संघसंस्थाले विभिन्न तालिम दिने गरेको भन्दैं नगरप्रमुख बुढाथोकीले हरेक व्यक्तिले तालिम लिइसकेको भएपनि तालिम लिइसकेपछिको उपलब्धि भने एकदमै कम हुने गरेको बताए । सीप सिक्दा जीवनमा कुनै न कुनै दिन काम लाग्ने उनको भनाइ थियो । उनले नगरपालिकाले पनि जीवन उपयोगी विभिन्न तालिम दिने गरेको जानकारी दिए ।

महिलालाई समग्र रूपमा आत्मनिर्भर बनाउन जनचेतना अभिवृद्धि, क्षमता अभिवृद्धि, सीपमूलक तालिम लगायत आय आर्जनसम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ । सीप सिकेपछि उनीहरूलाई व्यवसाय सञ्चालन गर्न नगरपाकिाले पे्ररित गर्ने र लामो अवधिको तालिम दिएपछि अनुदान उपलब्ध गराएर प्रत्यक्ष रूपमा आय—आर्जन हुने व्यवसाय सञ्चालन गराउने र त्यसमा अन्य महिलाहरूलाई रोजगारी उपलब्ध गराउने योजना रहेको नगरपालिकाले जनाएको छ ।

महिलाहरुले अब बेरोजगार र सीपविहीन हुनु नपर्ने, सीप सिकेर उत्पादन गरेका सामग्रीको नगर आफैंले बजारीकरण पनि गर्र्ने नगरप्रमुख बुढाथोकीको भनाई छ ।

कार्यक्रमको अध्यक्षता गदैं मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले जीवनमा केन्द्र उद्घाटन गरेको आजको दिनजति खुशी यस अघि कहिल्यै पनि नभएको प्रतिक्रिया दिईन् । आफूले झण्डै ५÷७ वर्ष अघि देखेको सपना आज साकार भएको भन्दैं खुशी व्यक्त गरिन् । यस कार्यामा प्रत्यक्ष परोक्षरुपमा साथ सहयोग र समन्वय गर्ने सवैप्रति उपप्रमुख उप्रेतीले हार्दिक आभारसहित धन्यवाद ज्ञापन गरीन् । अब यस केन्द्रबाट महिला लक्षित विभिन्न तालिमहरु सञ्चालन हुने र यस्ता तालिमले महिलालाई स्वरोजगार प्रदान गरेर आत्मनिर्भर बन्ने अवसर मिल्न विश्वास व्यक्त गरिन् ।

तालिममा सिकेको सीपलाई व्यवहारमा कार्यन्वयन गरे हरेक मानिस आत्मनिर्भर बन्ने दाबी गदैं उपप्रमुख उप्रेतीले तालिममा बस्ने केही कुरा सिक्ने अनि प्रमाणपत्र पनि लिने तर, तालिम समापनपछि प्रमाणपत्र सिरानीमा राखेर बस्ने हो भने तालिम लिनुको कुनै अर्थ नहुने बताईन् । हातमा सीप र प्रविधि खेलाउन सकेमात्र हरेक मानिस स्वरोजगार बन्ने उद्यम सिर्जना हुने उनको तर्क छ । आफ्नो सीप कसैले पनि लैजान नसक्ने भएकाले सिप सिकेर हरेक महिला आत्मनिर्भर बन्नुपर्ने उनको भनाई थियो ।

मेचीनगर नगरपालिकाका महिलाहरुलाई सीप सिकाएर स्वरोजगार बनाउने उद्देश्यले तीन करोड ५० लाखको लागतमा महिला सीप विकास केन्द्रको निर्माण शुरु गरिएको थियो । २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले मेचीनगर नगरपालिका–८ मा विपन्न, लोपोन्मूख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरेर महिला सीप विकास केन्द्रको स्थापना गरेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीले बताईन् ।

नगर गौरवको योजना अन्तरर्गत स्थापना गरिएको केन्द्र स्थानीय सरकारको तर्फबाट सुरुवात गरिएको भए तापनि यसलाई अझ प्रभावकारी बनाएर लैजान प्रदेश र संघीय सरकारको पनि साथ र सहयोग लिने उपप्रमुख मीना पोख्रेल उप्रेतीले बताईन् । उद्घाटन समारोहमा मेचीनगर नगरपालिका वडा नम्बर—८ का वडाध्यक्ष गिरीराज धमलालगायतले बोलेका थिए ।

केन्द्र उद्घाटनकै अवसरमा महिला सिप विकास केन्द्रमार्फत ढाका बुनाई तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रमको समेत उद्घाटन भएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले तालिम आयोजना गरेको हो । नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्तीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिईन् ।

source ; mero Mechinagar

सम्बन्धित खबर