Mechi Update

मेचीनगरमा चरापर्यटनको अपार सम्भावना

शनिवार, असार २१, २०८२

मेचीनगर । मेचीनगर नगरपालिका नेपालकै सुदूरपूर्वी सिमानामा अवस्थित एउटा अनुपम नगर हो । भारतसँगको खुला सिमाना, मैत्रीपूर्ण समाज, हरियाली खेतबारी, नदी–नाला र सामुदायिक वनहरूले यस क्षेत्रलाई अपूर्व प्राकृतिक सम्पदाले भरिएको बनाएको छ । तर, यो नगर केवल व्यापारिक नाका र औद्योगिक केन्द्र मात्र होइन, चरापर्यटनको अपार सम्भावना बोकेको गन्तव्य पनि हो । तर, सबैभन्दा अनौठो कुरा के छ भने, मेचीनगर केवल मान्छेहरूको आवागमनको सिमाना मात्र होइन, यो चरा संसारको लागि पनि एउटा महत्वपूर्ण गन्तव्य हो । पछिल्ला केही वर्षमा गरिएको हामी चराप्रेमीको सर्वेक्षण, फोटोग्राफी र स्थानीय प्रयासहरूले यस नगरलाई ‘बर्डिङ टुरिजम’ को सम्भाव्य नक्सामा दरिलो ठाउँ दिएको छ ।

हामीले हालसम्म गरेको अभिलेखअनुसार मेचीनगर क्षेत्रमा ३५४ प्रजातिका चराहरू भेटिएका छन् । यो संख्या पूर्वी नेपालको कुनै पनि एकल नगरपालिकाका लागि अत्यन्तै ठूलो हो । तर, यहाँको महत्व केवल संख्यामा होइन गुणस्तर र दुर्लभतामा पनि छ ।

पहेँलो अक्षरमा लेख्नलायक उपलब्धि-नेपालमै पहिलो पटक हरित परेवा (Green Imperial Pigeon) र वैजनी ढाडे बुङ्गेचरा (Purple-rumped Sunbird) यी दुवै प्रजातिहरू नेपालका लागि नयाँ थपिएका छन्, यी दुवैको प्रमाण पनि यहीँ मेचीनगर क्षेत्रबाट भएको हो । कैलो सारौं(White-cheeked Starling)  जस्तो प्रजाति, जुन नेपालमा मुस्ताङ जिल्लामा मात्रै एकपटक अभिलेख भएको थियो, अहिले दोस्रो पटक हाम्रो नगर क्षेत्रमै भेटिएको छ । यसले हाम्रो क्षेत्रलाई नेपालको दुर्लभ चरा अन्वेषणको एउटा ‘हटस्पट’को रूपमा उभ्याएको छ ।यसले देखाउँछ कि हाम्रो क्षेत्र केवल स्थानीय महत्वको मात्र हैन, राष्ट्रिय चराविज्ञानमै नयाँ पाना थप्ने क्षमता राख्छ ।

कैलो लाहाँचे (Pale-headed Woodpecker) को फोटो प्रमाण रोङ गाउँपालिकामा गरिएको छ, जुन हाम्रो नगरपालिकासँग प्रत्यक्ष जोडिएको छ । यो कुनै सामान्य चरा होइन । नेपालका चराप्रेमीहरूले दशकौँ देखि खोजिरहेको प्रजाति, जसको एक मात्र अस्थिर रेकर्ड देशको दक्षिण–पश्चिम क्षेत्रमा थियो, अहिले हाम्रो पूर्वी पहाडको काँधमा पाइयो ।त्यसैगरी, सबैभन्दा महत्वपूर्णहाम्रो मेचीनगर–४ मा नेपालकै सबैभन्दा ठूलो र महत्वपूर्ण बासस्थान भएको ठूलो बगरबट्टाई (Great Thick-knee) पाइन्छ । यो पक्षी नेपालका निम्ति IUCN को Critically Endangered सूचीमा पर्ने दुर्लभ प्रजाति हो । नेपालमा यसको मुख्य बासस्थान काठमाडौँको मनोहरा नदीमा छ भन्ने सुनिन्थ्यो । तर, त्यस बाहेक यो पक्षी स्थायी रूपमा बस्ने दोस्रो ठूलो र महत्वपूर्ण क्षेत्र यही मेचीनगर–४ हो । यस पक्षीको संरक्षण गर्नु भनेको केवल मेचीनगरको कर्तव्य होइननेपालकै गौरव र जिम्मेवारी हो ।

त्यसैगरी, वगाले वगेडी (Yellow-breasted Bunting) जस्तो विश्वस्तरमै अति संकटग्रस्त (Critically Endangered) प्रजाति पनि हाम्रो क्षेत्रमा पाइन्छ । यो प्रजाति विश्वमा अत्यधिक तीव्र गतिमा घटिरहेको छ । यसको बासोबास हाम्रै गाउँको खेतबारी र झाडीहरूमा देखिनु भनेको हाम्रो भूमिको महत्व अपार छ भन्ने प्रमाण हो । हल हाम्रो नगरमा, हामीसँग १३ वटा सामुदायिक वन छन् । यी वनहरूले चराचुरुङ्गीहरूका लागि प्राकृतिक सुरक्षित आवास, प्रजनन् स्थल, आहार र विश्रामस्थल प्रदान गर्छन् । साथै, हामीसँग विशाल कृषि भूमि छ, जहाँ खेतबारीको हरियालीले चराको आहार र बासोबास दुवै दिन्छ । मेची नदी, यसको सहायक खोलानाला र रोङ गाउँपालिकासँगको पहाडी क्षेत्रले प्रवासी चराहरूका लागि प्रवास/माइग्रेसन करिडोरको काम गर्छ । हाम्रो नगर यस्तो अनौठो स्थान हो जहाँ समथर तराईदेखि पहाडी जंगलसम्मको यात्रा केही किलोमिटरमै हुन्छ । यस्तो भूगोलले चराको विविधता अपूर्व बनाएको छ । यहाँ स–साना प्रवासी चरा, जलपंक्षी, राप्टर/शिकारी, घना वनमा बस्ने दुर्लभ प्रजाति सबै भेटिन्छन् ।

हाम्रो नगरसँग अर्को ठूलो सम्भावना पनि छ, अन्तर्राष्ट्रिय पर्यटक । भारतको पश्चिम बंगाल र बिहार सीमासँग प्रत्यक्ष जोडिएको भएकाले भारतीय बर्डिङ क्लब, फोटोग्राफर र रिसर्चरहरूका लागि यो सहज गन्तव्य हो । खुला सीमाना, सरल प्रवेश प्रक्रिया, सस्तो बसोबास र नेपाली आतिथ्यताले यसलाई अन्तर्राष्ट्रिय चरापर्यटनको केन्द्र बनाउने सबै आधारहरू तयार छन् । तर, दुर्भाग्य के हो भनेयति सम्भावना हुँदाहुँदै पनि हामीले यो क्षेत्रलाई चरापर्यटनको आधिकारिक ‘ब्रान्ड’ बनाउन सकेका छैनौँ । अझै पनि धेरै स्थानीयवासीलाई आफ्नै गाउँका दुर्लभ चराहरूको महत्व थाहा छैन । चराहरूको बसोबास क्षेत्र जोगाउने सवालमा ठोस नीति र संरचना छैन ।

त्यसैले अहिले सबैभन्दा आवश्यक कुरा के हो भने हामीले मेचीनगरमा यथाशिघ्र चरा अभारण्य (Bird Sanctuary) स्थापना गर्नुपर्छ । संरक्षित क्षेत्र घोषणा गर्न सके हामीलेलो बगरबट्टाई (Great Thick-knee) जस्ता अति संकटापन्न (Critically Endangered) प्रजातिको बसोबास सुरक्षित गर्न सक्छौं । कैलो लाहाँचे  (Pale-headed Woodpecker),वगाले वगेडी (Yellow-breasted Bunting), प्रवासी विभिन्न पक्षी लगायत अन्य दुर्लभ प्रजातिका लागि पनि स्थायी आश्रय दिनेछ ।

चरा अभारण्य (Bird Sanctuary) ले केवल चरालाई सुरक्षा दिन्छ भन्ने होइन । यसले बर्डिङ ट्रेल बनाउने, गाइड तालिम दिने, होमस्टे प्रवद्र्धन गर्ने, स्थानीय उत्पादन बेच्ने, हस्तकला र कृषि पर्यटन जोड्ने अवसर दिन्छ । यसले हाम्रो युवालाई रोजगारी दिन्छ, किसानलाई आम्दानी दिन्छ, महिलालाई आर्थिकी रूपमा सशक्त बनाउँछ ।

चरापर्यटन केवल फोटो खिच्ने मनोरञ्जन होइन । यो प्राकृतिक संरक्षणको चेतना हो । हामीले चरा बचाउँदा हामी आफ्नो वन बचाउँछौं, जमिनको उर्वरता बचाउँछौं, पानीको स्रोत जोगाउँछौं । यसले हावाको शुद्धता, वर्षा चक्र र हाम्रो जीवनलाई नै समृद्ध बनाउँछ ।

म विगत ८ वर्षदेखि यस क्षेत्रमा चराको अनुसन्धान, फोटोग्राफी र स्थानीय सचेतना अभियानमा समर्पित छु । हामीले विद्यालयमा पाठ्यक्रम बाहिरका कार्यक्रम, सामुदायिक छलफल, स्थानीय अपीलहरू, डकुमेन्टरी भिडियो निर्माण, चरागणना र सरकारी निकायहरूसँग सहकार्य गरेका छौं । यसले देखाएको तथ्य केवल संख्यामा होइन, हाम्रो जिम्मेवारीमा पनि ठूलो छ ।

अब यो व्यक्तिगत अभियान होइन, सम्पूर्ण नगरको साझा सपना हुनुपर्छ । नगरपालिका, सामुदायिक वन उपभोक्ता समूह, महिला समूह, युवा क्लब, किसान समूह सबै मिलेर यसलाई आफ्नो अभियान बनाउने बेला आएको छ ।यो उपलब्धिलाई संस्थागत गर्न तथा दरिलो आयआर्जनको मार्गप्रशस्त गर्नचरा अभारण्य (Bird Sanctuary) उपयुक्त स्थानमा घोषणा गर्न, पर्यटन प्रवद्र्धन नीति बनाउन, सूचना पाटी, बर्डिङ ट्रेल, तालिम र होमस्टे व्यवस्थापन सबैमा हामी जुट्नुपर्छ ।

आज संसारभरिका चराप्रेमीहरू अनौठो र दुर्लभ प्रजातिको खोजमा देश–देश घुमिरहेका छन् । हाम्रो नगर तथा गाउँमै त्यो खजाना लुकेको छ । हामीले त केवल यसलाई चिन्ने, माया गर्ने, जिम्मेवारीपूर्वक जोगाउने र गर्वका साथ प्रस्तुत गर्ने हो ।

आउनुहोस्, हामी सबै मिलेर मेचीनगरलाई पूर्वी नेपालको उत्कृष्ट चरा पर्यटन/बर्डिङ पर्यटन गन्तव्य बनाउने प्रण गरौं । हाम्रो चराचुरुङ्गी सम्पदा, हाम्रो हरियाली, हाम्रो संस्कृतिलाई जोगाउँदै, सबैका लागि समृद्धि, रोजगारी र हरित भविष्य बनाउने यो ऐतिहासिक अवसर हामी सबैले अँगालौं ।

(लेखक देवेन खरेल मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष पनि हुनुहुन्छ ।)

सम्बन्धित खबर