Mechi Update

थोप्लेविरानमा प्राङ्गारिक मल र मोरिङ्गा खेतीका विषयमा चर्चा

बिहिवार, असार १२, २०८२

मेचीनगर, १२ असार । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले बिना परीक्षण, बिना सुरक्षा बजारबाट विषादीहरु घरमा भित्राइरहेको बताए । विहीबार मेचीनगर–९ स्थित उज्यालो भविष्य जैविक कृषक समूहले ‘वातावरणको रक्षा नै जीवनको सुरक्षा’ भन्ने नाराका साथ वन्यजन्तु उद्यम विकास कार्यक्रम अन्तरगत प्राङ्गारिक मल उत्पादन र सजिउन (मोरिङ्गा) खेतीको उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले यस्तो कुरा बताएका हुन् । परनिर्भर नभएर स्वनिर्भर हुनका लागि वैकल्पिक मलका रुपमा घरैमा कम्पोष्ट मल उत्पादन गरेर प्रयोग गर्न सकिने उनको जोड थियो । नगरप्रमुख बुढाथोकीले कृषकहरुलाई प्राङ्गारिक मल उत्पादन र सजिउन (मोरिङ्गा) खेतीका लागि आवश्यक पर्ने ड्रायल मेसिन, प्रोसेसिङ लगायतमा नगरपालिकाले पुलको काम गर्ने बताए । डिभिजन वन कार्यालय झापाको ५ लाख र संस्थाको ६६ हजार लागत सहभागितामा प्राङ्गारिक मल उत्पादन गरिएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले झापाका वनलाई वनमारा झारले विगारेको बताए । उक्त वनमारा झारलाई कृषकहरुले संकलन गरेर प्राङ्गारिक मलको रुपमा उत्पादनमा जोडदिनु पर्ने उनले बताए । कृषकहरुले वनभित्र रहेका काठका झारपात, वनमारा झार र पतिंगरहरु संकलन गरेर घाँस र गोवर मिसाएर खाल्डामा राखेर प्राङ्गारिक मल उत्पादन गरिरहेको उज्यालो भविष्य जैविक कृषक समूहका अध्यक्ष ईन्द्र पाठकले बताए । खाल्डोमा पाँच लियरमा राखेपछि तीन महिनामा मल तयार हुन्छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि कृषकहरु प्राङ्गारिक मल उत्पादनतिर लागेका छन् । कृषि बालीमा जथाभावी रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको गुणस्तर बिग्रदै गएको कारण प्राङ्गारिक मल उत्पादनमा लागिएको पाठकको भनाई छ । प्राङ्गारिक खेतीका लागि नगरपालिकाले १७ लाख र संघीय सरकारबाट करिव २० लाख अनुदान दिएको छ । यसैगरी थोप्लेविरान सामुदायिक वनको महिला कृषि सहकारी संस्थाले तीन महिनाअघि रुपन्देहीबाट बहुउपयोगीका रुपमा रहेको सजिउनको वेर्ना रोपेर विरुवा उत्पादन गरेका थिए । एक हजार ५ सय विरुवा आज एक कार्यक्रमकाबीच संस्थाका सदस्य कृषकहरुलाई वितरण गरिएको छ । थप तीन हजार वेर्ना विरुवाका लागि रापेको बताइएको छ । संस्थाका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले मोरिङ्गाको खेती सुरु गरिएको संस्थाकी कार्यक्रम संयोजक जानुका ओलीले बताइन् । वर्षमा चारपटक उत्पादन हुने मोरिङ्गाको हाँगा र पालाई भविष्यमा डस्ट बनाएर बिक्री गर्ने योजना रहेको ओलीको भनाई छ । नगरप्रमुख बुढाथोकीको परिकल्पना अनुसार वडा नम्बर ९ मा मोरिङ्गाको खेती सुरु गरिएको छ । त्यसका लागि नगरपालिकाले ३ लाख रुपैयाँ सहयोग गरेको थियो । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ५ लाख रुपैयाँ प्रस्ताव गरिएको छ । विहीबारको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बुढाथोकी, डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठ, नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, कृषि प्राविधिक टेकेन्द्र प्रधान लगायतले प्राङ्गारिक मल र मोरिङ्गा खेतीका विषयमा चर्चा गरेका थिए । थोप्लेविरान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष डम्बरकुमारी प्रधानले स्वागत गरेको कार्यक्रमको सञ्चालन संयोजक जानुका ओलीले गरेकी थिइन् । Source:- Mechinagar online
सम्बन्धित खबर